काठमाण्डौं। लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन सुरु गरिएको छ। छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन सुरु गरिएको हो।
हिलो चरणमा डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म दुई लेन सडक बनाउन सुरु गरिएको हो।
राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ। १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ।
उक्त सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो। डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ। सडकका लागि भ्याट र पीएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकामा उक्त जेभीले ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो।
पहिलो चरणको निर्माण सकिए लगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ।