काठमाडौं। कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि पश्चिम छिनासम्मको झण्डै एक किलोमिटर सडकमा भएको सडक अतिक्रमण हटाइएपछि सडक चौडा बनेको छ। पक्की घर, सेफ्टी ट्यांकी र जस्तावाला घर हटाउन १५ दिने अल्टिमेटम दिइएको छ भने अन्य संरचना भत्काई सकिएको हो।
सडक डिभिजन जुम्लाको प्रमुखका रूपमा राजिव श्रेष्ठ आइसकेपछि पहिलो नमुना कामका रुपमा अतिक्रमण हटाउने अभियान सुरु भयो। अभियानअन्तर्गत जिरो प्वाइन्टदेखि छिनासम्म मात्रै अतिक्रमण गरी बनेका दुइ दर्जन संचरना भत्काइयो। त्यस्तै तातोपानी गाउँपालिका–स्थित जर्मीमा अतिक्रमण गरी बनेका २८ वटा घर टहरा पनि हटाइँदैछ।
अतिक्रमण हटाएपछि कर्णाली राजमार्गको जुम्ला खण्डको जिरोप्वाइन्टदेखि छिनासम्मको एक किमि सडक चौडा भएको छ। सडक अतिक्रमणसँंगै जथाभावी फालिएका निर्माण सामग्री र मनपरि सवारी पार्किङले दुर्घटनाको उच्च जोखिम थियो। तर हाल अतिक्रमण हटाएसँंगै सडकमा जभाभावी रूपमा हुने सवारी पार्किङलाई नियन्त्रण गर्न ट्राफिक प्रहरी लागेपछि सडक चौडा र फराकिलो भएको हो।
अतिक्रमण हटाएर सडकममा फुटपाथ निर्माण गरिने भएको छ। बसपार्क क्षेत्रको सडकको दुवै साइटमा झण्डै डेढ मिटर फराकिलो फुटपाथ निर्माण गर्ने सडक डिभिजन जुम्लाको तयारी छ।