काठमाडौं। राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्म रहेको १ सय १० किलोमिटर सडकको सात खण्डमध्ये ६ खण्ड सम्पन्न भएको छ भने एक खण्डको काम अन्तिम चरणमा पुगेको हो।
सो खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले वि.सं २०७३ असोजदेखि सातवटा खण्डमा ठेक्का लगाएको थियो। जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि दुई अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो।
झैटेदेखि चराङसम्मको १९ किलोमिटर, छोसेरदेखि कोरलासम्मको १४ किलोमिटर, जोमसोमदेखि ताङ्वेसम्मको १८ किलोमिटर, ताङ्वेदेखि चैलेसम्मको ११ किलोमिटर, चैलेदखि भेनासम्म ११ किलोमिटर र भेनादेखि झैटेसम्मको १२ किलोमिटर सडक स्तरोन्नतिको काम सकिएको जनाइएको छ।