काठमाडौं। सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिकाको रणनीतिक सडक अन्तर्गतको ज्यामीरेमाने नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ। ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मङ्गलबार सो सडकको शिलान्यास गरेका हुन्।
शिलान्यासको अवसरमा अध्यक्ष तामाङले ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउन यो सडकले सहयोग गर्ने जानकारी दिएका थिए। उनले गाउँपालिकाका सम्पूर्ण सडक क्रमशः स्तरोन्नति र कालोपत्र गरिँदै लैजाने जानकारी दिँदै धमाधम काम भइरहेको उल्लेख गरे।
सङ्घीय सरकार र स्थानीय सरकारको साझेदारीमा सो काम सुरु गरिएको हो। सो सडकको स्तरोन्नतिका लागि मूल्य अभिवृिद्ध करसहित रु १० करोड ९ लाख ९ हजार ८५१ लागत अनुमान रहेको छ।
उक्त लागतमा ईन्द्रावती गाउँपालिकाको पाँच करोड ९४ लाख ९ हजार ८५१ र सङ्घीय सरकारको समपुरक अनुदान चार करोड १५ लाख रहेको छ। सो बाटो निर्माणका लागि श्री घिसिङ।युएण्डएस जेभी, माझिफेदा काभ्रेले सम्झौता गरेर काम सुरु गरेको छ। निर्माणको जिम्मा पाएको कम्पनीले रु पाँच करोड २१ लाख २३ हजार ३५४ मा ठेक्का सम्झौता गरेको छ।