चितवन। नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ। व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको हो।
केबलकार सञ्चालनको लागि कागजी प्रकृया सकेर निर्माण काम सुरु गरिएको हो। मन्दिर नजिकको हेलिप्याडमा केबलकारको माथिल्लो स्टेशन बनाइने भएको छ। एक वर्षभित्र केबलकार निर्माणको काम सकिने जनाइएको छ।
२०७९ माघे संक्रान्तिमा भक्तजनले केबलकार चढेर मौलाकालिकाको दर्शन गर्न सक्नेगरी काम गरिएको बताइएको छ। हेलिप्याडमा बन्ने स्टेशनमाथि स्तरिय होटल र होटलमाथि हेलिप्याड बनाइने छ। १.३ किमी लम्बाईको हुने केबलकारमा सुरुवाती चरणमा १२ वटा डब्बा राखिने छ। फेदीबाट करिब ७ मिनेटमा केबलकारको माथिल्लो स्टेशनमा पुग्न सकिन्छ। त्यहाँबाट बढीमा ५ मिनेट उकालो चढेपछि मौलाकालिका मन्दिर पुगिन्छ।
केबलकार निर्माणमा सुरुमा डेढ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। केबलकार चलाउन सामुदायिक वनका एक हजार ३८ वटा रुख काटिएको छ। केबलकार निर्माण पछि मौलाकालिका दर्शन गर्न आउने बृद्धबृद्धा, बालबालिकालगायत अशक्तहरुलाई सहज हुने विश्वास गरिएको छ। केबलकार सञ्चालन भएपछि गैंडाको पर्यटकिय गतिविधि बढ्ने छ।