म्याग्दी। राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडकलाई स्तरोन्नती गर्न दैनिक ६ घण्टा बन्द हुने भएको हो।
गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोर अन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–७ महभीर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न दैनिक दुई चरणमा सडक बन्द गरिने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। उक्त सडक माघ १० देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने भएको छ।
महभीर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवं स्तरोन्नती गर्नकालागी सडक बन्द गर्न लागिएको जनाइएको छ। उक्त सडक बन्द भएपछी म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लामा आवतजावतमा समस्या हुनेछ।
सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरमा १.२ किमी सडक बिस्तारका लागि डोजरको सहायताले मात्रै ट्रयाक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोगले भीर फुटाउन ६० टन विष्फोटक पदार्थको प्रयोग गरिने भएकाले उक्त क्षेत्रमा समेत अर्को कार्यतालिक बनाएर सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था रहेको छ।