काठमाण्डौं। म्याग्दीको बेनी नगरपालिका–१ मा तीन किलोमिटर ८०० मिटर सडक निर्माण गर्ने योजना चार वर्षमा पनि पूरा भएको छैन। बागलुङ–बेनी सडकको बेनपा–१ रत्नेचौरको भुवानेबाट हुलाकेडाँडा–खबरासम्मको सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एण्ड सायर बिएन जेभीसँग १३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो।
विसं २०७५ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको उक्त सडक निर्माण विसं २०७६ मा सक्ने लक्ष्य थियो। ९० प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम दुई वर्षदेखि रोकिएको छ। निर्माण नसकिँदै पहिलो चरणमा भएको कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको छ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक निर्माण नसकिँदै जीर्ण र जोखिमयुक्त बनेको छ। जीर्ण र कच्ची सडकमा दुर्घटनाको जोखिम बढेको छ। धेरै ठाउँमा नाली पुरिएका छ भने, कालोपत्र पनि उप्किएको छ। पहिरो पन्छाउने, मर्मत र दोस्रो चरणको कालोपत्र गर्न बाँकी छ। अधुरो कामलाई पूर्णता दिन ताकेता गरे पनि निर्माण व्यवसायीले अटेर गरेका छन्।
बेनी हुँदै बागलुङ आवतजावत गर्न सास्ती भएको यात्रा गर्ने यात्रुहरुको गुनासो छ। हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको यात्रुले बताए। भौतिक पूर्वाधार मन्त्रालयको महानिर्देशकले भेरियसन अर्डरको प्रस्ताव स्वीकृत गरिदिए चैत मसान्तसम्म थपिएको समयभित्र बाँकी १० प्रतिशत काम सकेर हस्तान्तरण गर्ने निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्षसमेत रहेका जिसीले बताए।