बेनी। राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत भीरकाटेमा सुरुङमार्ग बनाइने भएको छ। भौगोलिक कठिनाई र नदीकटानका कारण सडक दिगो नहुने भएकाले भीरकाटेमा सुरुङमार्ग बनाउन लागिएको हो।
भिरकोटमा तीनसय मिटर सुरुङमार्ग बनाउन लागिएको हो। अन्नपूर्ण गाउँपालिका ६ भीरकाटेमा कालिगण्डकी नदी र दोबा खोलाको कटानले सडक साघुरो भएपछि सुरुङमार्गको विकल्प खोजिएको जनाइएको छ। कालिगण्डकीको कटानका साथै पहाड काटेर सडक बनाउन घोप्टे भीरका कारण असम्भव भएकाले सुरुङमार्गको विकल्प खोजिएको हो।
आयोजनाले यहाँ सुरुङमार्ग बनाउन तीनवर्ष अगाडि नै प्रारम्भिक अध्ययन गरिसकेको थियो। बेनी जोमसोम सडक खण्डको सवैभन्दा चुनौतीपूर्ण स्थान मध्यमा पर्ने भीरकाटेको समस्या समाधानको उपयुक्त विकल्प नै सुरुङमार्ग रहेकाले बनाउन लागिएको बताइएको छ।
एकमिटर सुरुङमार्ग बनाउन करिब १८ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ।सवारीसाधन आउन र जानका लागि दुई वटा लेन हुनेछन्। दोबा गाउँ जाने बेलिव्रिज नजिकको पहाडबाट पोखरेबगर तर्फको सडकखण्डमा छुने गरी बनाइने सुरुङमार्ग सवारीसाधन आवतजावत गर्न मिल्ने गरी दुईलेनको ११ मिटर फराकिलो हुने भएको छ।