ताप्लेजुङ । सुकेटारदेखि पाथीभरा मन्दिरसम्म पुग्ने बाटो बाक्लो हिउँले ढाकेको छ। पाथीभरा पुग्ने मोटरबाटोको तुलनामा पैदल हिँड्ने बाटोमा बाक्लो हिउँ परेको हो।
हिउँले ढाकेको पाथीभराको बाटो खुल्न साता दिन बढी लाग्ने भएको छ । सुकेटारदेखि पाथीभरा मन्दिरसम्मै बाक्लो हिउँ परेकाले बाटो खुल्न समय लाग्ने भएको हो । पाथीभरा जानका लागि सुकेटारदेखि काफ्लेपार्टीसम्म १२ किलोमिटर कच्ची सडक छ । त्यहाँबाट ५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ ।
माथिल्लो फेदीदेखि मन्दिरसम्मको अढाई किलोमिटरमा अधिक हिउँ थुप्रिएको पाथीभराका कर्मचारीले जानकारी दिए। हिँउ बाक्लो परेकाले बिलाउन समय लाग्ने भएको हो।
हिउँका कारण कच्ची सडक हिलाम्य भएको छ । हिउँ बिलाउँदा पानी हुने भएकाले सुकेटारदेखि काफ्लेपार्टीसम्म कतै पनि सुक्खा नभएको यहाँका सवारी चालकले जानकारी दिए।
हिउँ नपरेको समयमा पैदल मार्ग अत्यधिक चिप्लो हुन्छ । यस्तो बेला उकालो चढ्दाको तुलनामा ओरालो झर्दा कठिन हुने गरेको छ । यतिबेला पैदलयात्रीलाई जुत्ताको बाहिर जुराफ लगाउन यहाँका कर्मचारीहरुको सुझाव छ।