काठमाण्डौं। ‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा उक्त पुल निर्माणको तयारी सुरु गरेको हो।
संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी सुरु गरेको हो। बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाएको हो।
कालीगण्डकीमाथि ५२४ मिटर लामो र १७२ मिटर उचाइमा बन्ने पुल प्रभावित क्षेत्रमा डिभिजनका प्राविधिकहरुको समूहले स्थलगत अध्ययन गरेको छ। उक्त नेपालमा ‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो पुल हो।
उक्त पुल निर्माणका लागि नेपाल सरकारले १२ करोड विनियोजन गरेको छ। ठेक्का लागेको दुई वर्षमा पुल तयार हुनेछ। पुल निर्माण भएपछि पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणलाई बागलुङ बजारको पहुँचमा ल्याउन सहज हुनेछ। सो पुल बनेपछि घण्टौँ लाग्ने बाटो १० मिनेटमा छोटिनेछ।