काठमाडौं। बागमती प्रदेश सरकारले आफ्ना लागि प्रदेश राजधानी हेटौँडामा आवश्यक प्रशासनिक भवनलगायतका संरचना निर्माण गर्न जग्गाको खोजी गर्न सुरु गरेको छ। प्रदेश सरकार गठन भएको चार वर्ष पुग्नै लाग्दा प्रदेश सरकारले जग्गाको खोजी गर्न सुरु गरेको हो।
गठबन्धन सरकारले प्रदेश सरकारका लागि प्रदेश राजधानी हेटौँडामा आवश्यक प्रशासनिक भवनलगायतका संरचना निर्माण गर्न आवश्यक जग्गाको पहिचान गर्न समिति गठन गरी जग्गा खोजी गर्न सुरु गरेको हो। जग्गाको पहिचान गरी सिफारिस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखा हेर्ने सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ।
प्रशासनिक भवन बनाउने बारेमा अहिलेसम्म चासो र सरोकार देखाइएको नपाइएको बताइएको छ। तत्काल सम्भव स्थानमा सबै हेरेर र बुझेर स्थान पहिचान गरी सिफारिस गर्न समिति निर्माण गरिएको छ। छिटोभन्दा छिटो स्थान पहिचान गरी प्रशासनिक भवन निर्माण अगाडि बढाइने जनाइएको छ।
प्रदेश सरकारको आफ्नै भवन निर्माण नहुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साबिकको जिल्ला विकास समितिको भवनबाट सञ्चालन हुँदै आएको छ। गठबन्धन सरकारले आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा बनाएपछि दुईवटा मन्त्रालय भाडाको घरबाट चलाइएको छ।
संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय भाडामा बस्दै आएका हुन्। यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेको भवनमा मन्त्रालय विभाजनपछि पाँचवटा मन्त्रालय अव्यवस्थित रूपमा राखिएको छ।