काठमाडौं। कञ्चनपुरको पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म राजमार्ग स्तरोन्नतिको काम सुरु भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरल गड्डाचौकीदेखि चिसापानीसम्मको क्षेत्रलाई मर्मत तथा स्तरोन्नति गर्ने कार्य सुरु गरेको हो।
सडक क्षेत्रमा भएका खाल्डाखुल्डी पुर्ने, सडक भासिएको ठाउँमा मर्मत गर्ने, साँघुरो स्थानमा सडक चौडा पार्ने र सडक स्तरोन्नति गर्ने कार्य गरिन लागेको कार्यालयले जनाएको छ। स्तरोन्नति कार्यक्रमअन्तर्गत बढी भिडभाड हुने चोक तथा चौराहामा स्तरोन्नतिसँगै सडक चार लेनको बनाइने भएको छ।
जिल्लाको सदरमुकाम क्षेत्रको बसपार्क क्षेत्रमा सडक चौडा नहुँदा विगतका दिनहरुमा सर्वसाधारणले समस्या भोग्दै आएका थिए अहिले सडक चार लेनको बनाएसँगै आवतजावतमा सहज भएको छ भने, दुर्घटनाको जोखिम पनी कम भएको बताइएको छ।
डिभिजन कार्यालयले राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत यस वर्ष वार्षिक कार्यक्रमअनुसार १० करोड बजेट पाएको छ। जसमा गड्डाचौकीदेखि चिसापानी क्षेत्रसम्म राजमार्ग स्तरोन्नति गर्ने कार्यक्रम रहेको छ।
यस वर्षको कार्यक्रममा अत्तरिया चोकदेखि पश्चिमतर्फका सडकमा माटो भरानदेखि कालोपत्रेको काम गरिनेछ। यसबाहेक अत्तरियादेखि चिसापानीसम्मका केही चोकहरूमा पनि सडक चौडा पार्ने काम गरिने जनाएको छ। यस वर्षको स्तरोन्नतिको केही काम सुरु भएको छ भने केही काम ठेक्का प्रक्रियामा रहेको छ।