बेनी। म्याग्दीको बेनी नगरपालिका–१ मा ३८ सय सडक निर्माण चार वर्षमा पनी सकिएको छैन। तीन किलोमिटर आठ सय मिटर सडक निर्माण गर्ने योजना चार वर्षमा पनि पूरा नभएको हो।
बागलुङ–बेनी सडकको बेनपा–१ रत्नेचौरको भुवानेदेखि हुलाकेडाँडा खबरासम्मको सडक बिस्तार र कालोपत्रे गर्नको लागी सडक डिभिजन कार्यालय बागलुङले वि.सं. २०७४ साउनमा नागार्जुन देब एण्ड सायर बिएन जेभीसँग तेह्र करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
९० प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। निर्माण नसकिदै पहिलो चरणमा भएको कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको छ। जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक निर्माण नसकिंदै जीर्ण र जोखिमयुक्त बनेको यातायात ब्यवसायीहरुको भनाइ रहेको छ। बेनी हुँदै बागलुङ आवतजावत गर्न सास्ती भएको यात्रु यात्रुहरुले बताए। हिउँदमा हिलाम्मे र बर्खामा हिलाम्मे हुने गरेकोले झन समस्या बढेको छ।
पहिरोले क्षति पुगेपछि थप गर्नुपर्ने कामको डिजाइनको भेरियसन अर्डर स्विकृत नभएकाले ढिलाइ भएको निर्माण कम्पनीले बताएको छ। भौतिक पूर्वाधार मन्त्रालयको महानिर्देशकले भेरियसन अर्डरको प्रस्ताव स्विकृत गरिदिए चैत मसान्तसम्म थपिएको समयभित्र बाँकी दश प्रतिशत काम सकेर हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ।