तनहुँ। व्यास नगरपालिका–११ तनहुँसुरमा कालोपत्र गरिएको सडक हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ। सडकको बीचमा रहेको रुखलाई नकाटी दायाँबायाँ कालोपत्र गरेर छोडिएको सडक भाइरल बनेको हो।
सामाजिक सञ्जालमा सडक भाइरल बनेसँगै त्यस क्षेत्रमा आउने पर्यटकको संख्या पनि ह्वात्तै बढेको छ। यहि सडकै कारण यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो।
शनिबार मात्र तनहुँसुरमा दुई हजारभन्दा बढी पर्यटकको आगमन भएको स्थानीयले जानकारी दिए। केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै चर्चामा आउन थालेपछि स्थानीय पनि खुशी भएका छन्।
तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ। उक्त मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो। अब ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ। हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ।
कूल रु १० करोडको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत ऋषि शक्ति जेभीले ७ करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको छ। उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो।