काठमाडौं। कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी सुरु गरिएको छ। कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको हो।
मुल नहर निमार्ण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको बताइएको छ। करिब १३ किलोमिटर मुल नहर निमार्ण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मुल नहर निर्माणाधीन अवस्थामै छ।
महाकाली सिँचाइ आयोजना तेस्रो चर शाखा नहर निमार्णको तयारी तीव्र पारेको छ। आगामी फागुनभित्र शाखा नहर निमार्णको ठेक्का आह्वान गर्ने तयारी छ। भारतले महाकाली नदीदेखि नेपाल–भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ। महाकाली सन्धिअनुसार भारतले नेपालको सीमासम्म यहाँ एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटर लगायतका संरचना बनाउनुपर्ने हुन्छ। सोही अनुसार भारतले नहर निमार्ण लगभग अन्तिम चरणमा पुर्याएको जनाइएको छ।
आयोजनाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ। शून्य विन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ।
त्यसैगरी सिँचाइले कञ्चनपुरको महाकाली पारी दोधारा चादँनीमा समेत नहर निर्माणका लागि सर्वे थालेको भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगन भएको छ। हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भए अनुसार काम भइरहेको छ।