बागलुङ। बागलुङको देउरालीचोक–बोक्से सडक कालोपत्रे गरिएको छ। बागलुङ बजारको देउराली चोकदेखि बोक्सेसम्मको जम्मा २.६ किमी सडक कालोपत्रे गरिएको हो।
सिगाना पुग्ने सडकअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्मको सडक अहिले पूरै पक्की भएको छ । देउराली चोकदेखि सवारी फस्ने स्थानमा सडक ढलान र अन्य स्थानमा कालोपत्रे गरी पछिल्लो चार वर्षका अवधिमा सडक पक्की भएको हो । योसँगै बागलुङ बजारदेखि सिगाना पुग्ने सडक बोक्सेसम्म निकै सहज भएको छ भने सिगाना पुग्न लाग्ने यात्राको समयसमेत छोटिएको छ ।
बागलुङ बजारदेखि बोक्से पुग्नै सवारीलाई एक घण्टा लाग्ने गरेकामा अहिले सडक कालोपत्रे भएपछि निकै सहज भएको सवारी चालकहरुले बताएका छन्।
लगातार चार वर्षको प्रयास र सबै वर्षको बजेट जोड्दा झन्डै साढे दुई करोड रुपैयाँ लागतमा अहिले बोक्सेसम्मको सम्पूर्ण सडक पक्की भएको बताइएको छ। अहिले सेरामा धमाधम सडक कालोपत्र भइरहेको र बागलुङ बजारभित्रका अन्य सडकसमेत सडक बोर्डको साझेदारीमा कालोपत्र कार्य भइरहेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।
बजारदेखि बोक्से जाने सडक गत वर्ष ७ सय मिटर र अहिले ८ सय मिटर सडक कालोपत्र भएपछि बोक्सेसम्मको सम्पूर्ण सडक पक्की भएको छ। पक्की भएको २.६ किलोमिटर सडकमध्ये झन्डै ५ सय मिटर सडक भने ढलान गरिएको र अन्य सडक कालोपत्र गरिएको बताइएको छ।
यो आर्थिक वर्षमा आरएस निर्माण सेवासँग सडक बोर्ड र बागलुङ नगरपालिकाको साझेदारीमा १ करोड ३८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएर सडक कालोपत्रे भइरहेको छ ।