काठमाण्डौं। सिगाना पुग्ने सडकअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्मको सडक अहिले पूरै पक्की भएको छ। देउराली चोकदेखि सवारी फस्ने स्थानमा सडक ढलान र अन्य स्थानमा कालोपत्र गरी पछिल्लो चार वर्षका अवधिमा सडक पक्की भएको हो।
सडक कालोपत्रे भएसँगै बागलुङ बजारदेखि सिगाना पुग्ने सडक बोक्सेसम्म निकै सहज भएको छ भने सिगाना पुग्न लाग्ने यात्राको समयसमेत छोटिएको छ। बागलुङ बजारदेखि बोक्से पुग्नै सवारीलाई एक घण्टा लाग्ने गरेकामा अहिले सडक कालोपत्र भएपछि निकै सहज भएको बागलुङ बजारदेखि सिगाना सडकमा नियमित सवारी साधन चलाउँदै आएका सवारी चालकले जानकारी दिए।
चालकका अनुसार सिगाना जाने सडक पहिलाको तुलनामा अहिले निकै सुधार भएको छ। साँघुरो सडकलाई अहिले ६ मिटर कायम गरी पक्की बनाइएको बताइएको छ। लगातार चार वर्षको प्रयास र सबै वर्षको बजेट जोड्दा झन्डै साढे दुई करोडका लागतमा अहिले बोक्सेसम्मको सम्पूर्ण सडक पक्की भएको हो।
यस वर्ष सिगाना जाने सडक बोक्सेसम्म कालोपत्र सम्पन्न भएसँगै उक्त बजेटले समिट चोक, अस्पताल रोड लगायत बागलुङ बजार क्षेत्रका भित्री तथा टुक्रे सडकको समेत कालोपत्र गर्दै विस्तारै बागलुङ बजारलाई खाल्टाखुल्टी मुक्त गराउने नगरपालिकाको अभियान रहेको छ।