पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ। सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालकसहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो।
पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभिरमा दुर्घटनाको जोखिम कायमै रहेकाले लामा अमृत फाउण्डेशनले रु एक लाख ४५ हजार लागतमा रेलिङ निर्माण गरेको हो।
घान्द्रुकका होटल तथा पर्यटन व्यवसायी र देशविदेशमा रहेका दाताको सहयोगमा पक्की रेलिङ निर्माण गरिएको बताइएको छ। विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार रहेको घान्द्रुकका बारेमा दुर्घटनापछि नकारात्मक सन्देश प्रवाह भएकामा यात्रुलाई सुरक्षित महसुस गराउन र दुर्घटनाको जोखिम कम गर्न रेलिङ निर्माण गरिएको हो।
सडकखण्डका पाँच वटा घुम्तीमा ऐना पनि राखीएको छ। दुर्घटनापछि स्थानीयवासीसमेत यात्रा गर्न डराउने गरेको बताइन्छ। उक्त खडकखण्डमा यात्रा गर्दा अब भने केही ढुक्क हुने अवस्था रहेको र त्रास कम भएको चालकको भनाइ रहेको छ।
जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएकाले ढलानको काम पनि छिटै सुरु गरिने जनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको मुख्य प्रवेशद्वार घान्द्रुकलाई मानिन्छ।