मोरङ। प्रदेश १ मा चालू आर्थिक वर्षको ७ महिनासम्ममा विकास निर्माणमा २१ प्रतिशत मात्र बजेट खर्च भएको छ। प्रदेशमा कूल ३२ अर्ब ४६ करोड ९२ लाख बजेट विनियोजन भएकोमा हालसम्म विकास निर्माण तर्फ २१ प्रतिशत मात्र खर्च गरिएको हो।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार पुँजीगततर्फ २१ प्रतिशत र चालूतर्फ ३१ प्रतिशत बजेट खर्च भएको छ ।
चालूतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३.६५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६.३ प्रतिशत बजेट प्रदेश सरकारले ल्याएको थियो । स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड अर्थात् १० प्रतिशत र वित्तीय व्यवस्थापनमा ३ करोड रुपैयाँ बजेट प्रदेश सरकारले ल्याएको थियो ।
केन्द्रमा भएको राजनीतिक उतारचढावको असर प्रदेशमा पनि परेकाले खर्च कम भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको अनुमान छ। आर्थिक वर्षको अन्त्यसम्ममा ९० प्रतिशत खर्च हुने मन्त्रालयको दाबी छ।
मन्त्रालयका सचिव सुमन दाहालले विकास निर्माणका काममा खर्च अभाव भएकाले संघीय सरकारसँग बजेट माग गरिएको बताए ।
दशैंतिहारपछि मात्रै विकास निर्माणका काम थालनी गर्ने गरेका कारणले समेत विकासे बजेट कम खर्च हुने गरेको र निर्माणका काममा गुणस्तरीय नआउने अर्थविद्हरुको भनाइ छ।