म्याग्दी। कालिगण्डकी करिडोरअन्तर्गत बेनी जोमसोम सडकमा कालिगण्डकी सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण भएका छन्। करिडोरअन्तर्गत म्याग्दीका अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभीरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालिगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर निर्माण कम्पनीले मोटरेबल निर्माण सम्पन्न गरेको बताइएको छ।
पोखरेबगर महभीरस्थित कालिगण्डकी नदीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि वि.सं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–वज्रगुरु जेभीले ठेक्का लिएको थियो।
पोखरेबगरमा ७० मिटर लम्बाइ ११ मिटर चौडाइ ११ मोटरेबल पुल भ्याटसहित आठ करोड २४ लाखमा लिएको थियो। यसको केही समयपछि सञ्चालन गर्नेसहित काम सम्पन्न भएको जनाइएको छ। कोरोना महामारी लगायतका समस्याले २०७८ पुस मसान्तसम्म एक वर्षको म्याद थप गरिएको थियो।
महभीरस्थित कालिगण्डकी नदीमा निर्माण भएको ८० मिटर लामो ११ मिटर चौडाइ भएको मोटरेबल पुल भ्याटसहित नौ करोड नौ लाखमा जेभीले निर्माणको जिम्मा लिएको थियो। असोजमा काम सम्पन्न गरी हाल पुलमा यातायात सुचारु भएको बताइएको छ। ११ मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैंले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो।
पुल महाशाखा र कालिगण्डकी करिडोर आयोजनाले बेनी–जोमसोम सडकमा मोटर पुल निर्माण योजनालाई प्राथमिकता दिएर अघि बढाएका छन् ।