काठमाडौं। दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको छ। साँझ बिहान आयोजनाको पिकिङ आवर भएकाले दिनमा भन्दा बढी उत्पादन हुने गरेको आयोजनाले बताएको हो।
बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म पिकिङ आवर भएकाले ३५० मेगावाटसम्म उत्पादन हुने बताइएको छ। दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ। अहिले फिक्स नभइसकेकाले माग अनुसार विद्युत् दिनु पर्दा बढीभन्दा बढी उत्पादन दिने गरेको छ।
दिनमाभन्दा रातमा विद्युत् खपत हुने गरेकाले छ वटै युनिटमा उत्पादित विद्युत् माग आए अनुसार वितरण गरिएको जनाइएको छ। आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृह २२० गोँगर–खिम्ती २२० केभी डबल सर्किट प्रशारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म र त्यहाँबाट खिम्ती–ढल्केबर चार सय /२२० केभी प्रशारण लाइनमार्फत विद्युत् वितरण भइरहेको बताइएको छ।