बझाङ। हिमपातका कारण बिहीबारदेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। वित्थडचिर गाउँपालिका, मुस्या खान, ढोल्यामोडलगायत ठाउँमा बाक्लो हिउँ जमेपछि अवरुद्ध भएको राजमार्ग अझै नखुलेको हो।
राजमार्ग खुलाउन जेसिबीको भएपनी जेसिबी नै बिग्रिएपछि बाटो खुलाउन अझै समय लाग्ने बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । आधाजति बाटोमा हिउँ पन्छाएको भए पनि बाँकी बाटो खुलाउन अझै १ दिन लाग्ने सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।
भारतसहित धनगढी र काठमाडौंबाट बझाङ भित्रिने तथा बझाङबाट बाहिरिने यात्रु तीन दिनदेखि बाटोमा नै अलपत्र परेका छन्। जंगलको बाटो भएका कारण खानबस्नको उचित व्यवस्था समेत छैन्।
अहिले जयपृथ्वी रेजमार्गमा दुई सयभन्दा बढी यात्रु अलपत्र परेका छन् । राजमार्गमा जमेको हिउँ पन्छाउन सडक डिभिजन कार्यालय बैतडीले बेवास्ता गरेको यात्रुहरुको गुनासो छ । बाटोमा यात्रुहरू अलपत्र परेको तीन दिन भइसक्दा पनि बाटो खुलाउनका लागि तीव्र रुपमा काम नभएको उनीहरूले गुनासो गरेका छन् ।