फाइल तस्बिर
कास्की। माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा पक्की मोटरेबल पुल निर्माण गर्न शुरु गरिएको छ। माछापुच्छ्रे २ र ३ वडालाई जोड्ने गरी सेती नदीमा पुल निर्माण गर्न थालिएको हो।
गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट पुल निर्माण थालिएको छ। पुलको शनिबार प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गरेका छन्। प्रदेश सरकारको १० करोड ४३ लाख लागतमा पुल निर्माणका लागि हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग गत साउन २५ गते ठेक्का सम्झौता गरिएको पूर्वाधार कार्यालयले जनाएको छ।
सम्झौताको मितिले दुई वर्ष विसं २०८० साउन २४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ। आरसीसी स्टील स्टक्चरमा निर्माण गरिने सो पुल ७० मिटर लामो र दुवैतर्फ डेढ मिटर फुटपाथसहित साढे १० मिटर फराकिलो हुने कार्यालयले जनाएको छ। पुल निर्माणपछि माछापुच्छ्रेको उत्तरी भेगसहित पोखरा महानगरपालिका–१९ का नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइन्छ।