काठमाडौं। नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कालिगण्डकी नदीमा निर्माणाधीन स्याङ्जा, पाल्पा र गुल्मी जोड्ने पुलको काम ९० प्रतिशत पूरा भएको हो।
यो पुलले स्याङ्जाको कालीगण्डकी–१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका–१ रिडीलाई जोड्ने छ।
९ करोड ८८ लाख २६ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७१ साल असार १० गते नयाँ बाटो–रुबिना–मना–जेबीसँग सम्झौता भएको थियो।
ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभाग अन्तर्गतको झोलुंगे पुल शाखाका अनुसार तेस्रो पटक म्याद थप गरी सम्झौताको सात वर्षपछि बल्ल पुल निर्माण सम्पन्न हुन लागेको छ। आगामी चैतभित्र निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।