काठमाडौं। दोलखा जिल्लाको शैलुङ गाउँपालिकाले विकासका विभिन्न संरचना निर्माण गरेको छ। जैविक विविधतायुक्त, जिल्लाकै गौरव एवं पालिकाको पहिचान दिने शैलुङको धार्मिक एवं पर्यटन प्रवद्र्धनका लागि शैलुङ गाउँपालिकाले विकासका विभिन्न संरचना निर्माण गरेको हो।
समुद्र सतहदेखि लगभग तीन हजार मिटर उचाइमा रहेको शैलुङको विकासका लागि कालापानीलाई बेस क्याम्प बनाई विभिन्न संरचना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। शैलुङले बुद्धलाई नै परिचित गराएको बताइएको छ।
यसलाई मध्यनजरमा राखेर बेस क्याम्पमा ७० लाख रुपियाँको लगानीमा २५ फिट अग्लो बुद्धको स्तूपा र गुप्तेश्वर महादेवको मूर्ति स्थापना गरिएको छ। पर्यटकका लागि ५० जना क्षमताको गोलघर निर्माण भएको छ।
यातायात सुविधाका लागि ढुङ्गेबाट करिब चार करोड रुपियाँको लगानीमा सोलिङसहितको सडक स्तरोन्नति गरिएको गाउँपालिकाले जनाएको छ। बहुवर्षीय योजनामा बेस क्याम्प कालापानीबाट शैलुङसम्म पैदल जान चालू आर्थिक वर्षमा पाँच करोड लगानीमा तीन मिटर फराकिलो, दुवैतर्फ पर्खालसहितको पाँच सय मिटर लम्बाइको मिनी ग्रेटवाल निर्माणाधीन अवस्थामा रहेको बताइएको छ।