म्याग्दी। बेनी नगरपालिका–४ तातोपानीस्थित म्याग्दी नदीमा निर्माणाधीन पुलको ढलान दबिएको छ। फापरखेत र मंगला गाउँपालिकाका–३ पखेर जोड्ने निर्माणाधीन पुलको ३ देखि साढे ६ सेन्टिमिटरसम्म ढलान दबिएको हो।
निर्माणाधीन पुलको ढलान दबिएपछि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको नेतृत्वमा प्राविधिकहरू समेतको टोलीले स्थलगत अनुगमन गरेको छ।
पुलको पहिलो ढलान ३० सेन्टिमिटर बाक्लो रहेकोमा कतिपय स्थानमा साढे ६ सेन्टिमिटरसम्म दबिएको पाइएको हो। पुलको ढलान गर्दा गरिएको सटिङको टेका बजबुत नभएपछि ढलान दबिएको प्राविधिकहरूको भनाइ छ।
ढलानमा भएको कमजोरीले पुलको दिगोपनामा पर्ने प्रभावबारे सडक डिभिजन र निर्माण कम्पनीका प्रतिनिधिको ध्यानाकर्षण गराइएको केसीले बताए।
उनले दीर्घकालीन रूपमा पर्नसक्ने असरलाई न्यूनीकरण र रोकथाम गर्नतर्फ सजग गराइएको जानकारी दिए।
अनुगमन टोली, सडक डिभिजन कार्यालय र निर्माण कम्पनीले प्राविधिक रूपमा थप नापजाँच गरी वास्तविकता पत्ता नलाग्दासम्म तेस्रो स्पामको थप काम रोक्ने र अन्य बाँकी कामलाई गुणस्तर कायम गरी तीव्रता दिने समझदारी समेत गरेका छन्।