काठमाडौं। निर्माणाधिन २२० केभी काठमाडौं–मस्र्याङ्दी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको काठमाडौं–मर्स्याङ्दी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको हो।
तनहुँको मार्कीचोकदेखि काठमाडौंको मातातीर्थ सबस्टेसनसम्म आइपुग्ने गरी निर्माणाधीन प्रसारण लाइन सम्पन्न हुन लागेको हो। अहिले धादिङको सिद्धलेक गाउँपालिकास्थित पिपलटार खण्डमा प्रसारण लाइनको अन्तिम चरणका कामहरू भइरहेका छन्। स्थानीय अवरोध हटाएर प्रसारण लाइनको बाँकी टावरको काम गरिरहेको आयोजनाले जनाएको छ।
स्थानीयसँगको समझदारीपछि पनि केही समय काम रोकिन पुगेको भए पनी त्यो समस्या सुल्झाएर वर्षौंदेखि रोकिएको २ वटा टावरको काम गरिरहेको कम्पनीले बताएको छ। मर्स्याङ्दीमा २२० केभी सबस्टेसन बनिनसकेकाले प्रसारण लाइनलाई १३२ केभीमा सञ्चालन गर्ने प्राधिकरणको योजना छ।
प्रसारण लाइन १३२ केभीमा चार्ज गर्न मार्कीचोक सबस्टेसनदेखि २२० केभी प्रसारण लाइनसम्म जोड्न २ वटा टावर निर्माण गर्नुपर्ने भएको छ। सबै काम सम्पन्न गरेर प्रसारण लाइन सञ्चालनमा ल्याउन बढीमा २ महिनाको समय लाग्ने आयोजनाले बताएको छ। उक्त प्रसारण लाइन १३२ केभीमा सञ्चालन हुँदा १५० देखि २०० मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ।
उक्त प्रसारण लाइन पूरा भई सञ्चालनमा आएपछि १ हजार मेगावाट विद्युत प्रवाह गर्ने संरचना तयार हुनेछ। प्रसारण लाइन आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।