काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउन आग्रह गरेका छन्।
नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेकोले नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका हुन्।
उनले नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरेका हुन्।
मन्त्री आलेले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि इयुसँग नेपालले सहकार्य गर्न चाहेको बताए।
भेटवार्तामा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयुको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गर्ने बताए । इयुले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन समेत व्यक्त गरे।
नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि पनि उनले नेपाललाई आग्रह गरे।