गोरखा। उत्तर गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म सडकको ट्रयाक खुलेको छ। नेपाली सेनाले सदरमुकामबाट सबैभन्दा टाढाको गाउँपालिका चुमनुब्रीसम्म सडकको ट्रयाक खाेलेकाे हो।
अझै ट्रयाक खोलेर सिर्दिबासकै पाङसिङसम्म सडक पुर्याउने नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ। ट्रयाक खोलिएका ठाउँमा स्तरोन्नति पनि भइरहेको छ।
हाल चट्टानसहितको भीर भएको धार्चे गाउँपालिकाको यारुबगर र दोभानमाथिको भीरमा ब्लाष्टिङ गरेर चट्टान फोर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। वैशाख भित्र सिर्दिवाससम्म गाडी गुडाउने लक्ष्यसहित नेपाली सेनाले काम गरिरहेको छ।
अहिले दोभानसम्म सामान ढुवानी गर्ने जीप, ट्याक्टर, ट्रक र साना गाडीहरू आवतजावत गर्न सक्छन् । यस क्षेत्रमा सडक सुरक्षालाई ध्यानमा राखेर दिउँसोको समयमा मात्र गाडी गुड्न दिइएको छ ।