दार्चुला । नेपाली कांग्रेसले महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग गरेको छ । व्यास गाउँ कार्यसमिति कांग्रेसले प्रमुख जिल्ला अधिकारी सिद्धाराज जोशीलाई ज्ञापन बुझाउँदै पुल निर्माणको काम तत्काल अघि बढाउन निर्माण व्यवसायीलाई ताकेता गर्न ध्यानाकर्षण गराएको हो ।
व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मल घट्टेमा तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माणको काम अघि बढाउन कांग्रेसले माग गरेको हो । पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ।
विसं २०७८ साउन २८ गते सस्पेन्सन बृज डिभिजनले पुल निर्माणको जिम्मा पाएको खम्पाछे/रुविना जेभीका प्रतिनिधिलाई बोलाएर २०७८ पुस मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्न निर्देशन दिएको थियो तर अहिलेसम्म काम नै अघि नबढेको भन्दै कांग्रेसका व्यास सभापति नरेन्द्र भट्ट नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो।
महाकाली नदी वारपार गर्न व्यासका वडा नं २, ३ र ४ का नागरिकका लागि अहिले तुइन छैन। भारतीय एसएसबीले तुइन काटिदिँदा अहिले यो क्षेत्रमा नाकाबन्दीजस्तै भएको छ।