काठमाडौं। कर्णाली करिडोर सुधार गर्नका लागि घरटहरा खाली गर्न निर्देशन दिइएको छ। कर्णाली करिडोर अन्तर्गत कालीकोट खण्ड सुधारको लागि घरटहरा खाली गर्न जिल्ला प्रशासन कार्यालय कालीकोट लगायतले सम्बद्ध पक्षलाई निर्देशन दिएको हो।
उक्त सडकखण्ड सुधारका लागि दुई वटा ठेक्का भएको र काम गर्न निर्माण व्यवसायी निर्माणस्थलमा आइसकेकाले सडकको क्षेत्र खाली गराउनको लागि यस्तो निर्देशन दिएको बताइएको छ। कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा नेतृत्वको एक टोलीले करिडोरको केही दिनअघि कालीकोट खण्डको अनुगमन गदै अतिक्रमित सडक तत्काल छोड्न र बाँकी निर्माण गर्न सुरु गरिएका घरटहरा पनि निर्माण नगर्न सुझाव दिएको हो।
करिडोरको लालीघाट, खुलालु, रेगिल, सान्नीघाट, भुरावगर, जारकोटलगायतका स–साना बजारमा सडक अतिक्रमण गरेर स्थानीयले घरटहरा बनाएर व्यवसाय सुरु गरिरहेका छन्। तत्काल सडक थप सुधार गर्नुपर्ने भएकाले स्थानीयले लगानी खेर जाने भन्दै सडकको जमिनभन्दा बाहिर मात्र घरटहरा बनाएर आफ्नो व्यवसाय सुरु गर्न सुझाव दिएको हो।
सडक निर्माणमा अवरोध हुनेगरी लगाइएका टहरा समयमा नहटाएमा प्रशासनले बलप्रयोग गर्ने जनाएको छ। सडक डिभिजन कार्यालय सिम्कोट, हिल्साले पनि तत्काल काम सुरु हुने भएकाले सडकमा लगाइएका घरटहरा खाली गरिदिन स्थानीयलाई आह्वान गरिसकेको छ।