काठमाडौं। कमलपोखरीमा नौ वटा चैत्यको विधिवतरुपमा प्रतिस्थापन गरिएको छ। कमलपोखरी सौन्दर्यीकरण योजना अनुरुप बुधबार काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्यले विधिवतरुपमा चैत्य प्रतिस्थापन गरेका हुन्।
प्रतिस्थापनका क्रममा प्रमुख शाक्यले १५ दिनभित्र कमलपोखरीको उद्घाटन गर्ने बताएका छन्।काठमाडौं महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको उनले बताएका छन्।
प्रमुख शाक्यले भने, ‘ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ।’
उनले चैत्यसँगै यहाँको सांस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरिपरि वृक्षारोपण गर्ने तयारी भएको पनि जनकारी दिए।