काठमाडौं। पाल्पाको रैनादेवी छहरा–२, सर्देवाफाँटमा निर्माणधीन सीजी सिमेन्ट उद्योग सञ्चालनको तयारीमा रहेको छ। आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो।
दैनिक चार हजार मेट्रिक टन क्लिङ्कर र तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त सीजी सिमेन्ट उद्योग पाल्पा प्रालिको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म उक्त उद्योगको काम ९५ प्रतिशत सम्पन्न भईसकेको छ।
उद्योग सञ्चालनसम्ममा १२ अर्ब ७३ करोड रुपियाँ लगानी पुग्ने बताइएको छ। उक्त उद्योगले सर्देवाफाँटमा करिब ४२० रोपनी जग्गा लिएको छ। उद्योगका लागि आवश्यक थप जग्गा लिने काम भइरहेको उद्योगले जनाएको छ।
उद्योग स्थापनापछि ४०० भन्दा बढीले रोजगारी पाउने उद्योगको भनाइ छ। अहिले पनि प्रत्यक्ष र परोक्ष रूपमा २०० भन्दा बढीले काम पाइरहेको बताइएको छ। उद्योगबाट उत्पादित क्लिङ्कर र सिमेन्ट नेपालकै बजारमा जाने र हालसम्म विदेशमा निर्यात गर्ने लक्ष्य नराखेको उद्योगले बताएको छ। क्लिङ्कर र सिमेन्ट उत्पादनपछि नेपाललाई क्लिङ्कर र सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनाउन र आयात घटाउन सहयोग पुग्ने सो उद्योगको दाबी छ।