काठमाडौं। हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालनमा आएको छैन। राजमार्ग सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका छन्।
गत माघ १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न सकेका छैनन्। सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको बताइएको छ। हिउँ खेल्न अहिले आन्तरिक पर्यटक रुपगाँसम्म जाने गरेका छन्।
लोकमार्ग अवरुद्ध हुँदा रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौं जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन्। कतिपयले यात्रुले सल्यान, दाङ, बुटवल हुँदै लामो दूरीको यात्रा गर्नुपरेको बताएका छन्। वर्षेनी यसै समयमा हिमपातका कारण सो लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुने गर्दछ।