म्याग्दी। कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोराला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पुल निर्माण सुरु भएको छ। बेगखोलामा मोटरेबल र झोलुंगे पुल निर्माण सुरु भएको हो।
सडक विभागको पुल महाशाखा पश्चिम सेक्टर कार्यालयले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको हो। पुल निर्माणको जिम्मा बीओकेआई–हिमालयन जेभीले पाएको छ। उक्त निर्माण कम्पनीले भ्याटसहित आठ करोड ३० लाख ६८ हजार ४ सय ७३ रुपैयाँमा जिम्मा लिएको हो।
निर्माण कम्पनीले सामग्रीसहित मजदुर जुटाएर पुल निर्माणको काम सुरु गरेको बताइएको छ।। २०८० साल २५ चैतभित्र सम्पन्न गर्ने योजनासहित ११ मिटरको चौडाइ हुने पुलको डिजाइन एण्ड बिल्ड मोडलमा सम्झौता भएको जनाइएको छ।
पक्की पुल निर्माणसँंगै गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीले बेगखोलामा ८० मिटर लामो झोलुंगे पुल निर्माण सुरु गरेको छ। गत कात्तिक तेस्रो हप्ता करसहित २९ लाख ३८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर हिमशिखर कन्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।