काठमाडौं। बझाङको सेती नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले झोलुुङ्गे पुल बगाएको हो।
अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछी बझाङको थलारा गाउँपालिका–१ का स्थानीय समस्यामा परेका छन्। डोटी जिल्लाको छपालीका बासिन्दा पनि सोही पुलबाट नै आवतजावत गर्ने सर्वसाधारण अहिले समस्यामा परेका हुन्।
रेगम र देउरा बजार जोड्ने सो झोलुङ्गे पुल बगाएपछि थलारा गाउँपालिका–१ का स्थानीयवासीलाई अहिले कृषि उपज बजारसम्म पुर्याउन कठिन भइरहेको बताइएको छ। केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले रु ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिकाले जनाएको छ।
उक्त काठे पुल पनी जोखीम बनेको छ। सो पुलबाट उक्त स्थानका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ। अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ।
झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको र पुल बनाउनका लागि थलारा गाउँपालिकाले पहल गरिरहेको बताइएको छ।