सिमकोट। कर्णाली करिडोरको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजनाका बाह्र वटा सडक तथा पुलको निर्माण कार्य रोकिएका छन्। पटक पटक हिमपात हुँदा निर्माण स्थलमा दुई फिट भन्दा बढी हिउ जमेपछि निर्माण कार्य रोकिएका हुन्।
बाक्लो हिमपातले निर्माण भई रहेको पुलको कार्य रोकिएको बताइएको छ। पुल निर्माण कार्य भई रहेको बेला निर्माणस्थलमा साढे दुई फिट हिउ जमेपछि काम रोक्नु परेको हो। बिहीबार मौसममा सुधार आएको भएपनि निर्माण क्षेत्रमा बाक्लो हिउ जमिनै रहेको छ।
यसअघि परेको हिउ नपग्लिएकै बेला बुधबार फेरी हिँउ परेपछि सडक निर्माणको काम अवरुद्ध भएको हो।हिमपातले चार वटा पुल –हेक्पा खोला, ताक्रु खोला, सल्ली खोला र याङ्गार खोलाका निमाणाधी संरचना प्रभावित पारेको छ। त्यसैगरि सडक निर्माण आयोजनाहरुमा हिल्सा तुम्कोट खण्डको सडक ग्राबेलिङ कार्य, इलिङ क्षेत्रको सडक बिस्तार, याल्वाङ क्षेत्रको सडक बिस्तार, च्याछरा सडक निर्माण, हेक्पा खोलाबाट च्याछरा सडक निर्माण, सिमकोट हेक्पा खोलाको सडक निर्माण, सिमकोट खार्पुको सडक निर्माण र खार्पुदेखि छारे खण्डको सडक निर्माणको काम प्रभावित भएको हो।