काठमाण्डौं। सदरमुकाम बेनी बजारभित्र वैकल्पिक सडक सञ्चालन भएको छ। सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक सडक सञ्चालन भएको हो।
बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न सुरु गरिएको हो।
साँघुरो सडक भएको बजारभित्र सवारी व्यवस्थापन गर्न वैकल्पिक सडक, बहुउद्देश्यीय मैदानमा बसपार्क, एकतर्फी सवारी सञ्चालन गराइएको बताइएको छ। नदी किनारमा निर्माण भएको तटबन्धलाई असर नपुग्ने गरी ढुङ्गा र माटोले फिलिङ गरेर म्याग्दी प्रवेशद्धार कालीपुलबाट कालीगण्डकी र म्याग्दी नदीको दोभान हुँदै दरबाङ बसपार्क जोड्ने करिब एक किलोमिटर दूरीको वैकल्पिक सडक सञ्चालन भएको छ।
बहुउद्देश्यीय मैदानमा नगरपालिकाले २० लाख बढी खर्चेर पूर्वाधार बनाएर बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरङ्जा, बेनी–बागलुङलगायत पश्चिमी क्षेत्रमा चल्ने बस, जीप र ट्याक्सी पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।