कास्की। कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ। बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण फागुन १ गतेदेखि दैनिक ४ घण्टा बन्द गरिने भएको हो।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो । थासाङ गाउँपालिका–४ मा रहेको काभ्रे र बादरजुङ भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउने योजना छ ।
बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारी साधन प्रयोग बन्द गरिने भएको छ ।