जुम्ला। कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–जुम्ला सडक खण्ड डबल लेन निर्माणसँगै कालोपत्रे हुने भएको छ। चालू आर्थिक वर्षको असार मसान्तसम्म उक्त सडक खण्ड चार किलोमिटर सडक डबल लेन निर्माण, नाला छोडेर सात मिटर चौडा गरी कालोपत्रे गरिने भएको हो।
दुई वटा ठेक्कामार्फत सडक चौडा, डबल लेन निर्माणको काम भइरहेको बताइएको छ। गत कात्तिकबाट निर्माणको काम सुरु भएको अहिलेसम्ममा दुबै ठेक्काको ३० प्रतिशत काम सम्पन्न भइसकेको छ। उक्त सडक निर्माणको ठेक्का थुदुन कस्न्ट्रक्सन र महादिप खिम्ती अन्जना खड्का जेभी निर्माण कम्पनीले लिएका छन।
चालू आवभित्रै नाला निर्माण, डबल लेन निर्माण गरी चार किमि सडक कालोपत्रेसमेत गरिसक्ने सम्झौता भएको बताइएको छ। पाँच÷पाँच करोडको लागतमा दुइ निर्माण कम्पनीले काम गरिरहेका छन्। उक्त सडकलाई सुरक्षित बनाउन १० करोड लगानीमा डबल लेन निर्माण गरी कालोपत्रे गर्न लागिएको बताइएको छ।
निर्माण व्यवसायीहरूले प्रतिकूल मौसमका बावजुद पनि सडक निर्माण कार्यलाई गति दिएका छन्। सम्झौताअनुसार गुणस्तरीय एवं छिटो छरितो काम अगाडि बढाउन कार्यालयले पनि नियमित निगरानी राखेको र निर्माण व्यवसायीले पनि जिम्मेवारीपूर्वक काम गरिरहेकाले निर्धारित समयमै डबल लेन निर्माण भएर सडक कालोपत्रे हुने अपेक्षा गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ।