काठमाण्डौं। जोखिम मोलेर हिँड्नुपर्ने अवस्थालाई जैमिनी नगरपालिकाले अन्त्य गरिदिएको छ। नगरपालिकाका सबै टोलमा बाह्रै महिना चल्ने सडक पुगेको हो।
नगरपालिकादेखि सबै वडा कार्यालय हुँदै यहाँका विद्यालय र स्वास्थ्य संस्थामा अहिले सवारी साधन चढेर सजिलै पुग्न सकिन्छ। भैपरी आउने समयमा बाहेक अब कुनै पनि वडा र स्वास्थ्य संस्थामा सजिलो बाटो पुगिन्छ। जनप्रतिनिधि आएपछिको योजना र लक्ष्यले सफलता मिलेको बताइएको छ। जनप्रतिनिधि आउनुअघि नगरपालिकामा २४७ किमी कच्ची सडक थियो। चार वर्षमा १३१ किमी नयाँ ट्रयाक खोलेर झण्डै ३०० किमी स्तरीयसमेत बनाइएको जनाइएको छ।
यी सडकको सञ्जाललाई पालिकाले दिगो सडक योजनाको नाम दिएको छ। ग्रामीण सडकबाट लोकमार्गमा पहुँच पुग्दा बर्सातमा ग्रामीण सडकमा कुनै समस्या भए पनि सहज सदरमुकाम र अन्य सहरी क्षेत्रमा जान सकिने बनाइएको नगरपालिकाले जनाएको छ।
कुश्मीसेरादेखि राङखानी, नाम्दुक हुँदै बरेङ जाने सडक भने रणनीतिक सडकमा सूचीकृत छ। यो सडकलाई कालोपत्रे गरेर गुल्मीसम्म जोड्ने गण्डकी प्रदेश सरकारको बजेट र कार्यक्रममा समेत उल्लेख छ।
व्याडथलासम्म पुग्ने सडकस्तरीय छ, अहिले सजिलै आउजाउ गर्न सकिने भएको छ। ग्रामीण सडकका कतिपय घुम्तीलाई ढलान गरेर बर्सातमा नभत्कने बनाइएको हो। सदरमुकामदेखि कुश्मीसेरा पुग्ने सडककै अवस्थाले ग्रामीण बस्ती झनै अव्यवस्थित रहेकोमा नगरपालिका बनेपछि ग्रामीण सडक सुधारमा केन्द्रित भएको हो।