ओखलढुंगा । जिल्लाका बजार क्षेत्रमा अव्यवस्थित ढंगबाट थुपारिएका निर्माण सामाग्रीका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ ।
सदरमुकामका रामबजार, हुलाकटोल, जिससटोल, रमाईलोडाँडा लगायतका क्षेत्रमा नै सडकको दायाँबायाँ नै निर्माण सामाग्री थुपारेर राखिएका छन् । साँगुरो सडक त्यहिँमाथि दुवैतर्फ थुपारिएका निर्माण सामाग्रीका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकहरुको भनाइ छ ।
व्यक्तिगत घर निर्माणका लागि प्रयोग हुने गिट्टी, बालुवा, ईटा, रड लगायतका सामग्री बजार क्षेत्रमा जताजतै अव्यवस्थित रुपमा राखिएका छन् । यसले गर्दा सवारी आवतजावतमा त समस्या छ नै पैदल यात्री तथा विद्यालय जाने बालबालिकालाई समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ ।
हिँडडुल गर्न, सवारी आवतजावत गर्न त यसले समस्यामा पारेको छ नै अव्यवस्थित रुपमा सडकमा जताततै राखिएका सामाग्रीका कारण बजारको सौन्दर्यमा समेत असर गरेको छ ।