झापा। भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १ करोड ५० लाख रूपैयाँको लागतमा कालीमन्दिरको पुनःनिर्माण गरिएको हो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले मन्दिरलाई आकर्षक र भव्य बनाएको बताए। विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित कालीमन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनको भनाइ छ ।
मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख रूपैयाँ सहयोग उपलब्ध गराएको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनुरुप मन्दिर निर्माण गरिएको बताए ।
मन्दिर निर्माणका लागि विभिन्न दाताले आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए ।
काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोहीअनुरुपका साना मूर्ति भारतको सिलीगुढीबाट खरिद गरेर ल्याइएको छ । ७ लाख रूपैयाँको लागतमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।