दाङ। तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोटमा केबलकार निर्माणको काम अझै शुरु भएको छैन। केबलकार निर्माणका लागि सर्वेक्षण गरिएको वर्ष बित्दा समेत निर्माण कार्य शुरु नभएको हो।
एक वर्षअघि छिल्लीकोटमा रहेको बुद्ध ढुङ्गा नजिकबाट १हजार ४०० मिटरको दूरीमा केबलकार सञ्चालन गर्ने गरी सर्वेक्षण गरिएको थियो ।
त्यहाँ दुईपटक सर्वेक्षण भइसकेको छ। केबुलकारसम्म सहजै गाडी आउन सक्ने गरी सडक खनिसकिए पनि निर्माण कार्य भने शुरु हुन सकेको छैन। केबलकार निर्माण भएपछि छिल्लीकोटको विकासले धेरै फड्को मार्ने आश गरेका स्थानीय काम नै शुरु नहुँदा निरास बनेका छन्।
त्यहाँ केबुलकारबाट हरियाली वनका साथै गिद्ध रेष्टुरेन्टसमेत अवलोकन गर्न सकिन्छ। केबुलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ।
करिब एक अर्ब ४० करोडको लागतमा केबुलकार निर्माण गर्ने तयारी भए पनि कोरोनाका कारणले काम अघि बढ्न नसकेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ।