सप्तरी। सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरिएको छ। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले नगरपालिका भवन तोडफोड गरेका हुन्।
उनीहरुले बिहीबार कार्यालयमा लगाएको ताला खोलिएको र पुन ताला लगाउन जाँदा सुरक्षा निकायले रोकेपछि भवन तोडफोड गरेका हुन्।
नगर प्रमुख उत्तम गौतमले एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड भएको जानकारी दिएका छन्।
कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पुर्याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद व्यक्त गरेको छ ।
प्रदर्शनकारीले नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने, आर्थिक वर्ष २०७८÷०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनुुपर्ने माग राख्दै ताला लगाएका थिए ।
माग सम्बोधन नगरी नगरपालिकाले आफूखुसी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ ।