मनाङ। मनाङको दूधखोलामा निर्माण शुरु भएको ६ वर्षमा पनि पुल निर्माण पूरा नभएपछि स्थानीयले काठको पुल बनाएका छन्। द क्याराभान कम्पनीले ठेक्का पाएको पुल ६ वर्षसम्म पनि निर्माण नभएपछि स्थानीयले काठेपुल बनाएका हुन्।
दूधखोलामा एक वर्षभित्रै सक्ने गरी ठेक्का सम्झौता भएको पुल निर्माणको काम हालसम्म अलपत्र छोडिएको हो। क्याराभानले मृत सञ्जीवनी र खड्का कृष्ण जेभीमा काम गर्ने सम्झौता गरेको हो। जिल्लाको थोंचेबाट तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल वि.सं २०७३ असारमा ठेक्का लागेको थियो। वि.सं २०७४ साउनमा सक्नुपर्ने सम्झौता भए पनि हालसम्म चारपटक म्याद थप भएको छ तर काममा प्रगति छैन।
भ्याटबाहेक तीन करोड ५५ लाख रुपैयाँमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब एक करोड ३२ लाख रुपैयाँ निकासा पाइसकेको छ।
क्याराभानले नै विसं २०७३ असारमा ठेक्का लिएको चार करोड ५७ लाख रुपैयाँको हुम्डे पुलसमेत अलपत्र छ। मर्स्याङ्दी नदीमाथि हुम्डेमा पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले २०७३ कै असारमा बोलपत्र आह्वान गरेको थियो।
श्री गाल्वा र क्याराभान कम्पनीले यसको ठेक्का पाए। भ्याटसहित चार करोड ५७ लाख रुपैयाँमा ठेक्का दिइएको यो पुल २०७४ माघमा सक्नुपर्ने हो।तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छवटा पुलको ठेक्का लगाएको थियो। पिसाङ र मुङजीमा निर्माणाधीन पुल अलपत्र अवस्थामै छ।