तनहुँ। बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको टावर जडानको काम धमाधम भइरहेको छ। बन्दीपुर–४ ठुल्ढुंगाबाट बरालथोकसम्म पुग्ने बन्दीपुर केबलकारको टावर जडानको काम भइरहेको हो।
तीन महिनाभित्र जडान गर्नुपर्ने ११ टावरको काम सक्ने गरी निर्माण कार्य अघि बढिरहेको बताइएको छ। केबलकार परियोजनाअन्तर्गत माथिल्लो स्टेशनमा पाँचतारे होटल पनि निर्माण भइरहेको छ। बीचमा कोभिडका कारण केही काम सुस्ताए पनि अहिले तीव्रता पाएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ। तल्लो स्टेशनमा पनि पूर्वाधार निर्माणको काम भइरहेको छ।
कम्पनीले पूर्वनिर्धारित योजनामा होटल र केबलकारको क्षमता बढाएको छ। क्षमता वृद्धिको योजनासँगै लगानी पनि बढेर २ अर्ब ६० करोड पुगेको छ। यसअगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्याइएको छ। होटलको कोठा संख्या ६६ रहेकामा बढाएर ८७ पुर्याइएको छ।
केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ। २०७५ साउन पहिलो साता शिलान्यास भएको योजनाअनुसार २०७७ फागुन १ गते केबलकार सञ्चालनमा ल्याउने लक्ष्य थियो। कोभिड–१९ को प्रभावका कारण लक्ष्य प्रभावित भएको थियो। अब २०७९ फागुन १ गतेसम्म निर्माणका सबै काम सकेर व्यावसायिक रूपमा सञ्चालन हुने बताइएको छ।