नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट नगरपालिकामा पछिल्लो ४ वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ। हालसम्म गैंडाकोटमा कुल ३२१ किलोमिटर सडक निर्माण गरिएको हो।
चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको बताइएको छ। नगरभित्र १२६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। आफ्नै स्रोतसाधनबाट तीन पक्की पुल, तीन झोलुंगे पुल र कल्भर्ट निर्माण गरिएको नगरपालिकाले जनाएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पछिल्ला २ आर्थिक वर्षमा ३७४ जनालाई रोजगारी प्रदान गरिएको छ। नगरभित्र साना र ठूला गरी २७८ उद्योग सञ्चालन छन्। नगरभित्रका ६० वर्षमाथिका २ हजार १४१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ६४१ जनालाई अपांगता परिचयपत्र वितरणका साथै ५०० अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर र ट्राइसाइकल वितरण गरिएको बताइएको छ।