काठमाडौं। भारत सरकारका ऊर्जा सचिव आलोक कुमारले विद्युत व्यापारका लागि अनुमति दिन भारत सकारात्मक रहेको बताएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको भेटका क्रममा उनले विद्युत व्यापारका लागि भारत सकारात्मक रहेको बताएका हुन्।
ऊर्जा व्यापारका लागि सहज बतावरण बनाउन आफूहरु सकारात्मक रहेको बताउँदै उनले यसले आपसी सम्बन्ध समेत थप मजबुत बनाउने बताए।
यसै क्रममा उनीहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको थियो। मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्ने बताइन् । उनले उत्पादन तथा व्यापारमा द्विपक्षीय सहज सहकार्यको आवश्यकता औंल्याइन्।
भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकी मुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
अहिले नेपाल भारतबीच नवौं ऊर्जा सचिवस्तरीय बैठक काठमाडौंमा चलिरहेको छ। सहसचिवस्तरीय बैठकले उठाएका एजेण्डालाई सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ। बैठकको मुख्य एजेण्डा विद्युत व्यापार रहेको छ।