काठमाडौं। स्थानीयवासीले यातायात अवरुद्ध गरेर अस्तव्यस्त बनेको भक्तपुरतर्फको यातायातत सञ्चालन भएको छ। हिजो बिहान ११ बजेदेखि भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत साँगामा स्थानीयवासीले यातायात अवरुद्ध गरेपछि अस्तव्यस्त बनेको भक्तपुरतर्फको यातायात सञ्चालन भएको हो।
बिहान ११ बजे स्थानीयवासीले दुर्घटनाग्रस्त सवारीसाधन र चालकलाई पक्राउ गर्नुपर्ने माग राख्दै राजमार्ग बन्द गराएपछि काभ्रेतर्फ जाने सवारी बीचमै रोकिएर अलपत्र हुँदा सयौँ यात्रु दिनभर अलपत्र बनेका थिए।
गएराति बनेपाबाट साँगातर्फ मोटरसाइकललाई चार पाङ्ग्रे सवारीसाधनले ठक्कर दिँदा बनेपा नपा–१४ का ३२ वर्षीय विशाल तामाङको मृत्यु भएपछि ठक्कर दिने फरार सवारी र चालकलाई पक्राउ गर्नुपर्ने माग राख्दै साँगामा स्थानीयवासीले दिनभर सडक बन्द गराएका थिए।
अरनिको राजमार्गमा घण्टौँ जाम भएपछि यस राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको भक्तपुरको च्यामासिंह, ताथली, नाला हुँदै बनेपा जाने सडकमा प्रयोग गरिए पनि सो मार्गसमेत जाम परेपछि ट्राफिक व्यवस्थापनमा थप समस्या परेको थियो।
अरनिको राजमार्गमा भएको सवारी जामले अलपत्र यात्रु गन्तव्यमा पुग्न सास्ती भएपछि धेरै यात्रुहरू हिँडेरै गन्तव्य पुग्ने प्रयास गरेका थिए भने अलपत्र यात्रुहरू सडक खुल्ने आशामा दिनभर सडकमै भौतारिएका थिए।